विदेशको जागिर छाडेर गाउँ फर्किएका अनुप पाठकलाई ‘रोटरी इमर्जिङ इन्टरप्रेन्योर अवार्ड’


मेचीकाली

काठमाडौं- कतार एयरवेजको जागिर छाडेर गाउँ फर्किएर कृषि र ग्रामीण पर्यटनमा सक्रिय अनुप पाठकलाई रोटरी क्लब अफ काठमाडौं हाइटले ‘Rotary Emerging Entrepreneur Award 2026’ प्रदान गरेको छ।

रोटरी क्लब अफ काठमाडौं हाइटको सातौं चार्टर डे तथा पदस्थापन समारोहमा पाठकलाई उक्त पुरस्कार प्रदान गरिएको हो। युवा तथा उदीयमान उद्यमीलाई उनीहरूको नवीन सोच, सिर्जनशीलता, व्यावसायिक पहल र समुदायमा पारिरहेको प्रभावका आधारमा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको क्लबले जनाएको छ। क्लबले यसअघि प्रदान गर्दै आएको ‘Vocational Award’ लाई निरन्तरता दिँदै यस वर्षदेखि ‘Rotary Emerging Entrepreneur Award 2026’लाई थप व्यवस्थित रूपमा अघि बढाएको हो।


कतार एयरवेजको जागिर छाडेर गाउँ फर्किए

पाठकले करिब पाँच वर्षअघि कतार एयरवेजको आकर्षक रोजगारी छाडेर आफ्नै गाउँ फर्किएका थिए। विदेशमा रोजगारीलाई नै सफलताको प्रमुख बाटो मान्ने प्रवृत्तिभन्दा फरक उनले गाउँमै उपलब्ध कृषि, प्रकृति, संस्कृति र स्थानीय स्रोतलाई पर्यटनसँग जोडेर उद्यम सुरु गरे। नमोबुद्ध नगरपालिका–१० मा उनले सञ्चालन गरेको Baseri Farmstay and Retreat अहिले ग्रामीण तथा दिगो पर्यटनको गन्तव्यका रूपमा विकास भइरहेको छ। फार्मस्टेले स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना, स्थानीय संस्कृति संरक्षण र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यसहित काम गरिरहेको छ।

पुरस्कार ग्रहण गर्दै पाठकले सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा परिवार, गाउँ, स्थानीय समुदाय, Baseri Farmstay परिवार, साथीभाइ तथा शुभेच्छुकहरूको साझा सम्मानका रूपमा लिएको बताए। ‘विदेशमा राम्रो करिअर थियो। तर मेरो मन आफ्नै गाउँ र आफ्नै माटोमै थियो। नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ फर्किएको थिएँ। आजको सम्मानले खुसीभन्दा बढी जिम्मेवारी थपिदिएको छ।’

गाउँ, संस्कृति, कृषि र दिगो पर्यटनलाई जोडेर नमुना समुदाय निर्माण गर्ने आफ्नो प्रयासलाई थप अघि बढाउने उनको भनाइ छ। ‘यो सफलता अन्तिम गन्तव्य होइन, नयाँ यात्राको सुरुवात मात्र हो,’ उनले भने।


पुरस्कारका लागि क्यापिटल कार्गोको २५ हजार

यस वर्षको पुरस्कारका लागि Capital Cargo International Pvt. Ltd. ले २५ हजार रुपैयाँ सहयोग गरेको छ। कम्पनीका कार्यकारी निर्देशक भरत दाहाल लामो समयदेखि कार्गो व्यवसायमा संलग्न उद्यमी हुन्। सफल व्यवसायबाट प्राप्त अनुभव र स्रोतलाई नयाँ पुस्ताका उद्यमीको विकासमा लगानी गर्नुपर्ने उद्देश्यले पुरस्कारमा सहयोग गरेको क्लबले जनाएको छ।

दाहालले आफू अध्यक्ष रहेको श्री जनक माध्यमिक विद्यालय, भकुण्डेबेसीमा विद्यार्थी तथा युवाका स्टार्टअपलाई सहयोग गर्ने उद्देश्यले १५ लाख रुपैयाँको ‘Entrepreneur Endowment Fund’ स्थापना गर्न समेत सहयोग गरेका छन्। उक्त अक्षयकोषबाट नवीन व्यावसायिक सोच भएका विद्यार्थी तथा युवालाई प्रारम्भिक पुँजी र आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ।


पुरस्कार दिने अध्यक्ष आफैं पनि गाउँ फर्किएर उद्यममा

रोटरी क्लब अफ काठमाडौं हाइटका अध्यक्ष श्रीकृष्ण धिताल पनि विदेश वा सहरकेन्द्रित अवसरभन्दा गाउँमै सम्भावना खोज्ने उद्यमीमध्ये एक हुन्। धितालले Sanskriti Farms & Research Centre मार्फत कृषि, अनुसन्धान, ग्रामीण पर्यटन, वातावरण संरक्षण र दिगो प्रविधिको क्षेत्रमा काम गर्दै आएका छन्। आफ्नो व्यावसायिक सीप र अनुभवलाई गाउँसँग जोड्दै आएका धितालले युवा पुस्ताले नेपालमै अवसर सिर्जना गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छन्।

संस्कृति फार्म्सले खानेपानी तथा सरसफाई र दिगो प्रविधिका क्षेत्रमा गरेको कामका लागि केही समयअघि पोखरामा आयोजित रोटरी सम्मेलनमा Gopal–Kamala Rajbhandari Rotary Award 2026 समेत प्राप्त गरेको थियो। उक्त पुरस्कारको राशि २० लाख रुपैयाँ रहेको छ।

युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित ‘Rotary Emerging Entrepreneur Award 2026’ को अवधारणा आफ्नो उद्यमशील यात्रासँग पनि जोडिएको धितालले बताएका छन्।


आगामी वर्ष पनि २५ हजार

यो अभियानलाई एक वर्षमा सीमित नराखी निरन्तरता दिने उद्देश्यले Sanskriti Farms & Research Centre ले रोटरी वर्ष २०२७–२८ को ‘Emerging Entrepreneur Award’का लागि २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। रोटरी क्लबले आगामी वर्षहरूमा कृषि, पर्यटन, प्रविधि, सामाजिक उद्यम, वातावरणलगायत विभिन्न क्षेत्रमा नवीन सोच र प्रभावकारी व्यवसायिक अभ्यासमार्फत समुदायमा योगदान पुर्‍याइरहेका युवा उद्यमीलाई सम्मान गर्ने जनाएको छ।

क्लबका अनुसार पुरस्कारको उद्देश्य सफल भइसकेका उद्यमीलाई मात्र सम्मान गर्नु होइन, नयाँ सोच भएका युवालाई सुरुवाती चरणमै हौसला, नेटवर्क, मार्गदर्शन र अवसर उपलब्ध गराउनु हो। निजी क्षेत्र, सफल उद्यमी, शैक्षिक संस्था र स्थानीय समुदायसँग सहकार्य गर्दै युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने योजना क्लबले अघि सारेको छ।


‘सम्मान मात्र होइन, अवसर पनि’

नेपालबाट रोजगारीका लागि विदेश जाने युवाको संख्या बढिरहेका बेला गाउँ फर्किएर स्थानीय स्रोत, कृषि, संस्कृति र पर्यटनलाई आर्थिक गतिविधिसँग जोड्ने पाठकको यात्रा रोटरीले उदाहरणका रूपमा प्रस्तुत गरेको छ। क्लबले ‘Rotary Emerging Entrepreneur Award’ लाई केवल पुरस्कार वितरणमा सीमित नराखी युवा उद्यमीलाई अवसर, मार्गदर्शन, नेटवर्क र प्रारम्भिक सहयोगसँग जोड्ने दीर्घकालीन कार्यक्रमका रूपमा विकास गर्ने जनाएको छ।

‘उद्यमीलाई सम्मान मात्र होइन, अवसर पनि दिऔँ’ भन्ने अवधारणाका साथ अघि बढाइएको यो पहलले नेपालमै सम्भावना खोजिरहेका युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया



थप समाचारहरु