ललितपुर । ज्वल न्हाय्कं बचत तथा ऋण सहकारी संस्था लि.को १७औँ स्थापना दिवसको अवसरमा ललितपुरस्थित बालकुमारी मन्दिरमा पूजा–आराधनासहित विविध कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष राजेन्द्र नापितको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष ज्ञानबहादुर नापितले पूजा–आराधना गर्नुभएको थियो। कार्यक्रममा संस्थाका कार्यसमिति तथा लेखा समिति सदस्य, कर्मचारी र शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा अध्यक्ष राजेन्द्र नापितले १७औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण शेयर सदस्यहरूमा शुभकामना व्यक्त गर्दै संस्थाले हालसम्म सञ्चालन गर्दै आएका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउनुभयो।
त्यस्तै, संस्थापक अध्यक्ष ज्ञानबहादुर नापितले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूको सामना गर्दै संस्थालाई निरन्तरता दिन सफल भएकोमा कार्यसमिति, लेखा समिति, कर्मचारी तथा सम्पूर्ण शेयर सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि संस्थालाई थप सुदृढ र विश्वसनीय बनाउँदै लैजान सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष राजेन्द्र नापितले कार्यक्रममा उपस्थित सम्पूर्ण शेयर सदस्य तथा संस्थाको गतिविधिमा निरन्तर सहयोग गर्ने कार्यसमिति, लेखा समिति र कर्मचारीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
आपसी एकता, सहकार्य र उत्साहका साथ सम्पन्न १७औँ स्थापना दिवसले संस्थाको आगामी यात्रा अझ सफल र उपलब्धिमूलक बनाउने विश्वास व्यक्त गरिएको छ।