धुलिखेल- धुलिखेल अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरङ्ग (OPD) सेवा पुनः सञ्चालन गर्ने भएको छ।
अस्पतालले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा योजनामा रहेका आर्थिक तथा प्राविधिक समस्याको समाधानका लागि आवश्यक सुधार गरेपछि भदौ १ गतेदेखि ओपीडीमार्फत स्वास्थ्य बीमा सेवा पुनः सुरु गरिने जनाएको हो।
अस्पतालका अनुसार सरकारी बिदाबाहेक आइतबारदेखि शुक्रबारसम्म स्वास्थ्य बीमा सेवा उपलब्ध हुनेछ भने सार्वजनिक बिदाका दिन सेवा सञ्चालन हुने छैन।
बीमामार्फत सेवा लिन आउने सेवाग्राहीले साबिककै प्रथम सेवा बिन्दुबाट जारी गरिएको रिफरल (Referral) पुर्जी अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले स्वास्थ्य बीमा सेवा अवरुद्ध भएका बेला सेवाग्राहीले देखाएको धैर्यता र सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ व्यवस्थाअनुसार सेवा सहज रूपमा सञ्चालन गरिने विश्वास दिलाएको छ।