महेन्द्रज्योति, काभ्रे -‘बासडोलको गौरव, महेन्द्रज्योति सान, फोहोरमुक्त क्षेत्र हाम्रो अभियान’ भन्ने मूल नारासहित युवा परिवर्तन समाज बासडोलले सञ्चालन गर्दै आएको साप्ताहिक सरसफाइ अभियानलाई नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाले आवश्यक सामग्री उपलब्ध गराएको छ।
सरसफाइ अभियानलाई थप प्रभावकारी र व्यवस्थित बनाउन उपशाखाले युवा परिवर्तन समाज बासडोललाई ५ थान डस्टबिन, ५ सय थान मास्क र १ सय थान पञ्जा हस्तान्तरण गरेको हो।
सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाका सभापति मुकुन्द शर्माले उपशाखाको तर्फबाट सरसफाइ सामग्री युवा परिवर्तन समाजका सदस्यहरूलाई हस्तान्तरण गर्नुभयो। उपलब्ध सामग्री सरसफाइ अभियानमा सहभागी युवा तथा स्थानीयवासीको प्रयोगका लागि प्रदान गरिएको हो।
कार्यक्रममा रेडक्रस महेन्द्रज्योति उपशाखाका कार्यसमिति पदाधिकारी तथा सदस्य, युवा परिवर्तन समाज बासडोलका युवाहरू र स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सार्वजनिक स्थलमा सरसफाइ गर्दै स्वच्छ, सफा र व्यवस्थित वातावरण निर्माण गर्नु सबैको सामूहिक जिम्मेवारी भएको सन्देश दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शर्माले स्वच्छ वातावरण निर्माणका लागि समय–समयमा सरसफाइ अभियान सञ्चालन गर्नुका साथै दैनिक जीवनमै फोहोर व्यवस्थापन र सरसफाइको संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय समुदाय, युवा तथा सामाजिक संघसंस्थाबीचको सहकार्यले सरसफाइ अभियानलाई अझ प्रभावकारी बनाउन सकिने बताउनुभयो।
उपशाखाका कार्यक्रम सञ्चालक वकिलनाथ शर्मा वाग्लेका अनुसार हस्तान्तरण गरिएका सामग्रीमध्ये डस्टबिन उपशाखाको आफ्नै कोषबाट खरिद गरिएको हो। मास्क नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाबाट प्राप्त भएको हो भने पञ्जा सभापति मुकुन्द शर्माले व्यक्तिगत रूपमा उपलब्ध गराउनुभएको हो।
सामग्री सहयोगका लागि युवा परिवर्तन समाज बासडोलका सदस्य सुबिन कुँवरले नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखालाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले युवाहरूको सक्रियतामा सञ्चालन भइरहेको सरसफाइ अभियानमा स्थानीय संघसंस्था र समुदायको सहयोगले थप ऊर्जा मिलेको बताउनुभयो।
युवा परिवर्तन समाज बासडोलले स्थानीय क्षेत्रमा सार्वजनिक स्थल तथा सडक आसपासको फोहोर व्यवस्थापन गर्दै साप्ताहिक रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ। अभियानलाई निरन्तरता दिँदै बासडोललाई स्वच्छ र फोहोरमुक्त क्षेत्र बनाउने लक्ष्य राखिएको समाजले जनाएको छ।