काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला अदालतमा फैसला कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको छ । अदालतबाट कैद तथा जरिवाना तोकिए पनि फरार रहेका प्रतिवादीबाट एक अर्ब ५९ करोड ४० लाख ९८ हजार ७८० रुपैयाँ जरिवाना अझै असुल हुन बाँकी रहेको छ ।
जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षका लागि अघिल्लो आर्थिक वर्षबाट १ हजार ४१३ मुद्दाका २ हजार ५३० जना प्रतिवादीबाट कैद तथा जरिवाना असुल गर्नुपर्ने जिम्मेवारी सरेर आएको हो ।
अदालतका तहसिलदार बिनिता महर्जनका अनुसार फरार प्रतिवादीमध्ये ३२० जनाबाट कैद मात्रै, ९७८ जनाबाट जरिवाना मात्रै र १ हजार २३० जनाबाट कैद तथा जरिवाना दुवै असुल गर्न बाँकी छ । यस्तै, दुई जना विदेशी प्रतिवादीबाट पनि कैद तथा जरिवाना दुवै असुल गर्न बाँकी रहेको अदालतले जनाएको छ ।
अदालतको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा २८३ मुद्दाका २७४ जना प्रतिवादीबाट कैद तथा जरिवाना असुल भएको छ । उनीहरुबाट ३७१ वर्ष १ महिना ७ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने ९ करोड ६४ लाख ६५ हजार ४९२ रुपैयाँ जरिवाना असुल भएको छ ।
गत आर्थिक वर्षमा अपराधपीडितलाई क्षतिपूर्तिबापत ३ लाख २ हजार ८६८ रुपैयाँ उपलब्ध गराइएको अदालतले जनाएको छ ।
अदालतका सूचना अधिकारी अक्षयकुमार दनुवारका अनुसार चालु आर्थिक वर्षमा गत वर्षबाट जिम्मेवारी सरेका फरार प्रतिवादीबाट १ हजार ९३६ वर्ष ७ महिना १३ दिन कैद तथा १ अर्ब ५९ करोड ४० लाख ९८ हजार ७८० रुपैयाँ जरिवाना असुल गर्नुपर्नेछ ।
त्यसैगरी अपराधपीडितलाई क्षतिपूर्तिबापत ७ करोड ४२ लाख ३३ हजार ५६ रुपैयाँ भराउनुपर्ने जिम्मेवारी पनि अदालतमा सरेर आएको छ ।
अदालतका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षबाट १ हजार २९२ मुद्दाका २ हजार ४०० जना प्रतिवादीबाट कैद तथा जरिवाना असुल गर्नुपर्ने जिम्मेवारी आएको थियो ।
त्यसमा पछिल्लो आर्थिक वर्षमा थप ४०४ मुद्दाका लगत थपिएपछि कुल १ हजार ९६६ मुद्दाका २ हजार ८०४ जना प्रतिवादीबाट कैद तथा जरिवाना असुल गर्नुपर्ने अवस्था बनेको थियो ।
अदालतले फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीको विवरण प्रहरीलाई उपलब्ध गराउँदै आएको छ । अदालतको निर्देशनपछि प्रहरीले मातहतका प्रहरी चौकीमार्फत फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयन गर्ने अभियान सञ्चालन गर्दै आएको छ